काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।
यद्यपि, झाँक्रीले सोही दिन पार्टी कार्यालय पुगेर आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेकी थिइन् । उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका सम्बन्धमा अनुशासन आयोगले तोकिएको समयसीमाभित्र स्पष्टीकरण मागेको र समयमै जवाफ प्राप्त हुने विश्वास व्यक्त गरे। बैठकमा पतञ्जलि प्रकरणमा अध्यक्ष माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्था र पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए ।
बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी र राजेन्द्र राईले आ–आफ्ना धारणा राखेका थिए । केही नेताहरूको स्वास्थ्य अस्वस्थताका कारण बैठक छोटो समय बसेर स्थगित भएको उनले जानकारी दिए । केन्द्रीय सचिवालयको अर्को बैठक असार २२ गते बस्ने गरी स्थगित भएको खतिवडाले जानकारी दिए।