काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ ।
चीनमा आयोजना भएको ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी भएर आज राती १०:३० बजे नेपाल ओर्लनुहुने खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनालले हेनान प्रान्तको तीन दिने भ्रमण गर्दै त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्नुभएको थियो । हेनान भ्रमणको अन्त्यमा सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा खनालले सम्बोधन समेत गर्नुभएको थियो ।
हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्नुभई जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’लाई सम्बोधन गर्दै , सोही दिन ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाई र प्राज्ञिक संवाद’ शीर्षकको छैटौँ उप–मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताका रूपमा खनालले मन्तव्य राख्नुभएको छ ।
बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्व प्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिनुभयो ।
चिनको पाँच दिने भ्रमण सम्पन्न गरी नेता खनाल आज स्वदेश फर्कन लाग्नुभएको हो ।