अस्थिरताविरुद्ध राष्ट्रिय एकता मजबुत बनाउन पुर्व प्रधानमन्त्री खनालको आह्वान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय एकता, सार्वभौमिकता र समाजवादमुखी यात्रालाई अझ मजबुत बनाउन आग्रह गरेका छन्।

नेपाल एकीकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक गम्भीर बहुआयामिक संकटबाट गुज्रिरहेको उल्लेख गरेका हुन् ।

नेता खनालले पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको एकीकरण अभियानले नेपाललाई आज स्वतन्त्र, अखण्ड र सार्वभौम राष्ट्रका रूपमा स्थापित गरेको स्मरण गर्दै त्यसको ऐतिहासिक महत्वलाई आत्मसात् गर्नुपर्ने बताए । हिमाल, पहाड र तराईका विविध जाति, भाषा, संस्कृति र धर्मलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नु नै एकीकरणको मूल उपलब्धि भएको उनको भनाइ छ।

शुभकामना सन्देशमा उनले २०६२–६३ को जनआन्दोलन, संविधान सभा, नयाँ संविधान र निर्वाचनजस्ता ऐतिहासिक उपलब्धिपछि पनि गलत नीति र कार्यक्रमका कारण देशले आन्दोलन, विध्वंस र अस्थिरता भोग्नुपरेको उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्ति र स्वदेशी दलालहरूद्वारा मुलुकलाई अस्थिर बनाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सजग रहन आम जनतालाई आह्वान गरे।

आगामी आम निर्वाचनलाई निर्णायक अवसरका रूपमा चित्रण गर्दै नेता खनालले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजयी गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्रता, एकता र सामाजिक–आर्थिक रुपान्तरणलाई सुदृढ गर्दै समाजवादको बाटोमा दृढतापूर्वक अघि बढे मात्र “समृद्ध नेपाल, सुखी नेपाली” को सपना साकार हुने उनको निष्कर्ष छ।

राष्ट्रिय एकता दिवसले वीर पुर्खा, शहीद र नेपाली जनताको बलिदानलाई सम्झँदै वर्तमान पुस्तालाई एकता, शान्ति र अग्रगतिका लागि एकजुट हुन प्रेरित गर्ने खनालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *