समाजवाद स्थापनमा असफल भए हामीलाई जेल हाल्नुस् : वामदेव गौतम

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देशमा समाजवाद स्थापना गर्न नसके जनताले आफूहरूलाई जेलमा हाल्नुपर्ने कडा अभिव्यक्ति दिएका छन्। शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट नेतृत्वका लागि अब पछि हट्ने कुनै विकल्प नरहेको स्पष्ट पारे।

आक्रामक शैलीमा सम्बोधन गर्दै गौतमले विगतका कमजोरीहरू स्वीकार गरे र अब व्यवहारमै समाजवाद निर्माणमा जुट्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरूले हामीलाई जेलमा लगेर कोचिदिनुहोला। अब हामीलाई भाग्ने छुट छैन।”

गौतमले जनतालाई भ्रममा पार्ने प्रवृत्तिप्रति चेतावनी दिँदै ‘समाजवाद’ शब्द नारामा मात्र सीमित हुन नहुने बताए। “जनतालाई ढाँट्नका लागि मात्र ‘समाजवाद, समाजवाद’ भन्नुहुन्न। अब ढिला नगरी समाजवाद निर्माणमा लाग्नुपर्छ र देशलाई समृद्ध बनाउनु पर्छ,” उनले भने।

सम्बोधनका क्रममा उनले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेनजी’ आन्दोलनको पृष्ठभूमिमा नेतृत्वको भूमिका औँल्याउँदै त्यसको जिम्मेवारी केपी शर्मा ओलीमाथि राखे। संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सुझाव दिँदै उनले नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरे।

नेपाली कम्युनिस्ट आन्दोलन देशकै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै गौतमले अबको स्पष्ट लक्ष्य समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *