काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको मुद्दाका कारण पार्टीले बिदा दिएमा त्यसलाई स्वीकार गर्न तयार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले पार्टी कमिटीले निर्णय गरेमा आफू बिदा लिन तयार रहेको उल्लेख गरे । उनले पार्टी निर्माणमा आफ्नो दृढता र चुनौतीहरूको सामना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको दाबी गर्दै कुनै डर नरहेको बताए । उनले संविधानमा सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था भए पनि आफूमाथि प्रतिशोधपूर्ण ढङ्गले मुद्दा चलाइएको आरोप लगाए । नेपालले आफूमाथि प्रतिशोध साध्नेहरू भविष्यमा आफैँले खनेको खाल्डोमा पर्न सक्ने चेतावनी दिए ।