काठमाडौँ । निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी रहँदा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल उच्च बिन्दुमा पुगेको छ। यहीबीच घरदैलो अभियानलाई तीव्र बनाएकी उम्मेदवार मेनुका भण्डारी (कृतु) ले टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।
पछिल्ला दिनहरूमा देखिएको उत्साहजनक जनसहभागिता, बढ्दो स्वस्फूर्त समर्थनले उनको उम्मेदवारी जितको नजिक पुगिरहेको आंकलन हुन थालेको छ ।

“मेरो प्रतिबद्धता, समृद्ध क्षेत्र, सबल राष्ट्र” भन्ने मूल नारासहित मैदानमा उत्रिएकी भण्डारीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई घरदैलोमै सरल भाषामा राख्दै मतदातासँग विश्वासको सम्बन्ध विस्तार गरिरहेकी छन्।
उनले नेपालको संविधानका आधारभूत विषयहरूको रक्षा गर्दै समयानुकूल आवश्यक संशोधन गर्ने, लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने र राजनीतिक स्थिरताका लागि शासकीय स्वरूपमा आवश्यक परिमार्जन अघि बढाउने स्पष्ट धारणा दोहोर्याइरहेकी छन्।
उनको एजेन्डाको केन्द्रमा नागरिकको आधारभूत अधिकार रहेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई व्यवहारिक रूपमा सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई अनिवार्य आवद्ध गराउने योजना उनले घरदैलोका क्रममा विस्तारपूर्वक राख्दै आएकी छन्। डिजिटल रोजगारी र आईटी क्षेत्रको विकासमार्फत युवाहरूको विदेश पलायन रोक्ने विशेष कार्यक्रम लागू गर्ने प्रतिबद्धताले युवापुस्तामा उत्साह देखिएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन स्थापना गर्ने अठोट उनले पुनः दोहोर्याएकी छन्। एक वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने पहल गर्ने घोषणा उनले गरेकी छन्।
साथै ई–शासन ब्लूप्रिन्ट लागू गरी अनुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गर्ने लक्ष्य प्रस्तुत गर्दा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ।
पछिल्लो जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सडक विभाग र जिल्ला अदालतलगायतका संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्। आन्दोलनका क्रममा शहादत प्राप्त युवाहरूको सम्झनामा “जेन्जी स्मारक पार्क” निर्माण गर्ने योजना पनि उनले अघि सारेकी छन्, जसले युवामाझ भावनात्मक समर्थन बढाएको देखिन्छ।
सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै सबै वर्ग, जाति, लिङ्ग र समुदायबीच समानता कायम गर्ने, महिलाको प्रतिनिधित्व मात्र नभई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट दिने तथा एकल महिलाको भत्ता वृद्धि र विशेष रोगहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने योजना उनले दोहोर्याएकी छन्।

सुविधा सम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, “एक परिवार, एक आवास” अवधारणा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने तथा दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्याको वैज्ञानिक र सम्मानजनक समाधान गर्ने योजना पनि उनको एजेन्डामा समेटिएको छ।
काठमाडौँ उपत्यकाको जटिल ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि सार्वजनिक यातायात प्रवर्द्धन, पोडवे, मेट्रो, अन्डरपास र फ्लाइओभरको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनतर्फ पहल गर्ने, आधुनिक पार्किङ पूर्वाधार विकास गर्ने, फोहोर व्यवस्थापनलाई प्राथमिकता दिँदै स्वस्थ बस्ती निर्माण गर्ने र प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य उनले घरदैलोमै राखिरहेकी छन्।
नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ बनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

घरदैलो अभियानमा देखिएको अग्रजहरूको आशीर्वाद, युवाहरूको सक्रिय सहभागिता र महिलाहरूको उत्साहजनक साथले मेनुका भण्डारी (कृतु) काठमाडौँ–१ मा सशक्त दाबेदारका रूपमा उभिएको चर्चा चुलिँदै गएको छ।
निर्वाचनको दिन नजिकिँदै जाँदा उनको अभियान अझ संगठित र प्रभावकारी बन्दै गएको छ, र यसपटक काठमाडौँ–१ ले समावेशी, सुशासित र दूरदर्शी नेतृत्व रोज्ने वातावरण स्पष्ट बन्दै गएको समर्थकहरूको दाबी छ ।
