नेपालद्वारा इन्डोनेशिया ३७० रनले पराजित, एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार तेस्रो जित

काठमाडौं ।
एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले लगातार शानदार प्रदर्शन गर्दै आइतबारको खेलमा इन्डोनेशियालाई ऐतिहासिक अन्तरले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले ३७० रनको विशाल अन्तरले जित हात पार्दै समूह चरणको अपराजित यात्रालाई कायम राखेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ४२१ रनको विशाल योगफल तयार गर्‍यो। नेपालका लागि प्रसिद्ध जैशी ले उत्कृष्ट शतकीय पारी खेल्दै १३२ रन बनाए भने रौनक श्रीवास्तव ले ८८ रन, परिमार्जन यादव ले ७१ रन र जोय थापा ले ५७ रनको महत्वपूर्ण योगदान दिए।

नेपालका ब्याट्सम्यानहरू शुरूदेखि नै आक्रामक देखिएका थिए। पहिलो विकेटका लागि नै ठूला साझेदारी हुँदै टीमले उच्च स्कोर बनाउन सफल भयो। प्रतियोगिताको यो अहिलेसम्मकै उच्च स्कोर पनि हो।

४२२ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको इन्डोनेशिया नेपाली बलरहरूको आक्रमणसामु टिक्नै सकेन। नेपालका विपिन शर्मा ले घातक बलिङ गर्दै ७.३ ओभरमा जम्मा १२ रन खर्चेर ६ विकेट लिएका छन्। यसबाहेक अन्य बलरहरूले पनि किफायती र आक्रमक बलिङ प्रस्तुत गरे। इन्डोनेशियालाई नेपालले जम्मा २४ ओभर ३ बलमा ५० रनमै अलआउट गर्‍यो।

यो जितसँगै नेपाल समूह चरणमा अझ बलियो स्थितिमा उभिएको छ। यसअघि नेपालले म्यानमार र भूटानलाई पराजित गरेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले युवा खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै खेलाडी र प्रशिक्षक टोलीलाई शुभकामना दिएको छ। यस प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्न सके आगामी यू–१९ तथा सीनियर टोलीमा यी खेलाडीहरूलाई अगाडि बढ्न थप अवसर प्राप्त हुने विश्वास गरिएको छ।

अब नेपालले आफ्नो समूहको अन्तिम खेलमा अझै बलियो चुनौती सामना गर्नुपर्ने छ। युवा खेलाडीहरूको आक्रमक ब्याटिङ र घातक बलिङले समर्थकहरूलाई नेपालबाट उपाधि जित्ने आशा दिलाएको छ।

#NepalCricket #ACC_U16 #YouthCricket #NepalVsIndonesia #CricketNews #NepaliCricket

Leave a Reply

Your email address will not be published. Required fields are marked *