बिहारमा नीतीश कुमारको जित : पुस्तान्तरणलाई दिएको कडा सन्देश

बिहारको ताजा चुनावी परिणामले फेरि एक कठोर राजनीतिक सत्य उजागर गरिदिएको छ—जनतालाई नाराभन्दा परिणाम चाहिन्छ, उमेरभन्दा विश्वास चाहिन्छ, र पुस्तान्तरणको खोक्रो आवाजभन्दा स्थिर नेतृत्वमै उनीहरूलाई आश्वासन मिल्छ। बिहारमा भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को अप्रत्याशित विजय केवल एक प्रदेशको सत्ता–परिवर्तन होइन; यो नेपालमा पछिल्ला वर्षयता उग्र रूपमा उठाइँदै आएको पुस्तान्तरण अभियान किन बारम्बार असफल हुन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर पनि हो।

निर्वाचन प्रचारमा राहुल गान्धी नेतृत्वको गठबन्धनले प्रस्तुत गरेको ‘नयाँ पुस्ता’, ‘नयाँ ऊर्जा’ र ‘नयाँ राजनीति’ को कथा बिहारका मतदाताले स्वीकारेनन्। परिवर्तनका ठूलो–ठूलो दाबी र पुराना पुस्तालाई अस्वीकार गर्ने रणनीति व्यवहारमै टिकेन। जनताले दीर्घकालीन नीतिगत स्थिरता, बलियो संगठन र विश्वसनीय नेतृत्वलाई प्राथमिकता दिए—जहाँ एनडीए मजबुत बनेर उभिएको थियो।
नेपाली राजनीतिक वातावरणमा अहिले देखिने ‘पुराना नेता हटाऊँ, नयाँ पुस्ता ल्याऊँ’ भन्ने उर्जा बिहारको नतिजामाथि नजर राख्दा अझै अस्पष्ट र अपरिपक्व देखिन्छ।

नीतीश कुमारलाई ‘थकित’, ‘असक्षम’ र ‘अब समाप्त’ भनेर चित्रण गरियो—ठीक त्यस्तै आरोपहरू नेपालमा पनि पुराना नेतामाथि लगातार लगाइँदै आएका छन्। तर बिहारका मतदाताले विश्लेषकको अनुमान होइन, दशकौँसम्म सामाजिक क्षेत्रमा गरिएका वास्तविक काम र नीति–कार्यक्रमलाई मूल्यांकन गरे।
नेपालमा भने पुस्तान्तरणको नेतृत्वले वैकल्पिक खाका, संगठनात्मक क्षमता, दीर्घकालीन तयारी र कार्यान्वयन योजना निर्माण गर्ने गम्भीरता देखाएन। परिवर्तनकोकुरा नारामै सीमित रह्यो—विश्वास निर्माण भइदिएन।

बिहारमा महिलामुखी आर्थिक कार्यक्रम, सामाजिक सुरक्षा विस्तार, आधारभूत सेवामा सुधार र प्रत्यक्ष जनजीवनमा प्रभाव पार्ने नीतिहरूले एनडीएलाई बलियो बनायो। नेपालमा भने परिवर्तनको अर्थ व्यक्तिबदलीकरणमै सीमित पारियो—नीति, संरचना र प्रणालीगत सुधारलाई प्राथमिकता दिइएन।
जनताले बुझिसकेका छन्—नेता बदलिँदैमा जीवन बदलिँदैन। परिवर्तन कार्यक्रम, योजनाप्रति निष्ठा र दीर्घकालीन प्रतिबद्धतामा हुनुपर्छ। यही बुझाइले बिहारमा नतिजा बदलिदियो।

बिहारको सन्देश स्पष्ट छ—
पुस्तान्तरण उमेरको होइन, क्षमता, तयारी र विश्वसनीयताको परीक्षा हो। नारा र आक्रोशले क्षणिक ताली पाउन सक्छ, तर जनमत केवल स्थिरता, परिणाम र प्रभावकारी नेतृत्वकै पक्षमा लामबद्ध हुन्छ।

नेपालमा उठिरहेको पुस्तान्तरणको आन्दोलनले यदि राजनीतिक रूपान्तरणको नेतृत्व गर्ने हो भने यसले अब बिहारको नतिजाबाट कठोर पाठ सिक्नैपर्छ—परिवर्तन भावना, रिस र प्रतीकात्मक विरोधबाट होइन; विकल्प, नीति, संगठन र जनविश्वास निर्माणबाट प्राप्त हुन्छ।
नेपालमा वास्तविक पुस्तान्तरण त्यही दिन सुरु हुनेछ, जब नयाँ पुस्ताले भाषण होइन—यथार्थपरक खाका प्रस्तुत गर्छ; व्यक्तिमुखी राजनीति होइन—नीतिमुखी विकल्प प्रदान गर्छ; र क्षणिक नाराभन्दा—दीर्घकालीन निर्माण मा ध्यान दिन थाल्छ।

बिहारको जनादेश केवल छिमेकी राज्यको राजनीतिक घटनाक्रम होइन—यो नेपालका भविष्यनिर्माताहरूलाई समयमै होस गराउन आएको एउटा महत्वपूर्ण राजनीतिक दर्पण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *