काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारत–चीनबीच भएको लिपुलेक सम्झौता अस्वीकार गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा एकीकृत समाजवादी र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) को एकता सभालाई सम्बोधन गर्दै उनले दुई छिमेकी राष्ट्रबीच भएको सम्झौता नेपाली भूमि अतिक्रमण र मुलुकको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको टिप्पणी गरे।
“देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो सह्य हुँदैन,” अध्यक्ष नेपालले भने, “यसविरुद्ध सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्छ।” उनले सरकारलाई समस्या समाधानका लागि दुवै छिमेकीसँग कूटनीतिक पहल गर्न आग्रह गरे।
नेपालले वामपन्थी शक्तिबीच ध्रुवीकरण अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो पार्टी मूलधारको कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको दाबी गरे। सामाजिक विभेद अन्त्य गरी जनतालाई गरिबी र पछौटेपनबाट मुक्त गराउन समाजवाद कार्यान्वयन नै विकल्प भएको उनको भनाइ थियो।
“हिंसा, अन्याय, अत्याचार र विषमता सामाजिक रूपान्तरणका बाधक हुन्,” उनले थपे, “सामाजिक न्याय, समानता र न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकास गर्न समाजवादी व्यवस्था उपयुक्त छ।”
समाजवादी क्रान्ति पूरा गर्न कम्युनिस्ट पार्टीहरूको भूमिकाबारे प्रकाश पार्दै उनले संगठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए।