नेपालको राजनीतिमा पुस्तान्तरण अहिले सबैभन्दा बहसको विषय बनेको छ। यथार्थमा, पुस्तान्तरणको अर्थ केवल उमेरको आधारमा नयाँ अनुहार ल्याउने होइन, विचार, सिद्धान्त र सपनाको निरन्तरता सुनिश्चित गर्ने प्रक्रिया हो। राजनीतिबिना देश चल्दैन, तर राजनीति जनताको हितमा नचल्दा त्यो बोझ बन्छ। आज मुलुकले किन अपेक्षित गति लिन सकेन, किन जनताको जीवनस्तर सुधारिएन, किन भ्रष्टाचार नियन्त्रण भएन र किन लोकतन्त्रप्रति अविश्वास बढ्दै गयो — यी सबै प्रश्नको उत्तर राजनीतिक नेतृत्वकै चरित्र र दृष्टिकोणमा लुकेको छ।
राजनीति चलाउने दल हुन्, तर दलहरूलाई गतिशील, लोकतान्त्रिक र चारित्रिक दृष्टिले नैतिक बनाउने जिम्मेवारी नेतृत्वको हुन्छ। नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकता दिन सके मात्र मुलुक अगाडि बढ्छ। दुर्भाग्यवश, पछिल्ला वर्षहरूमा नेपाली राजनीतिक नेतृत्व व्यक्तिगत लाभ र सत्ताको मोहमा फँसेको छ। दलहरू नेताका निजी सम्पत्ति झैँ बनेका छन्, जसका कारण पार्टीहरू निष्क्रिय, जनता असन्तुष्ट र मुलुक दिशाहीन बनेको छ।
विश्वका सफल लोकतान्त्रिक र समाजवादी व्यवस्थामा नेतृत्वको पुस्तान्तरण सधैं “उमेर” का कारण होइन, “विचार र दृष्टिकोण” का कारण भएको देखिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सत्तरी नाघेका छन्, तर उनी देशलाई आधुनिक प्रविधि, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रवादी दृष्टिकोणबाट अघि बढाइरहेका छन्। चीनका राष्ट्रपति सी जिनपिङ पनि वृद्ध उमेरमै छन्, तर उनले चीनलाई विज्ञान, प्रविधि र राष्ट्रिय स्वाभिमानमा आत्मनिर्भर बनाउने यात्रामा नेतृत्व दिइरहेका छन्। अमेरिकामा डोनाल्ड ट्रम्पले बुढ्यौलीमा पनि विश्व नेतृत्वको जिम्मेवारी सम्हालेका छन्, रुसका भ्लादिमिर पुटिन लामो राजनीतिक अनुभवका साथ देशलाई आफ्नो रणनीतिक दृष्टिकोणअनुसार चलाइरहेका छन्।
यी उदाहरणहरूले देखाउँछन् — पुस्तान्तरण केवल उमेरको सवाल होइन, दृष्टिकोण र जिम्मेवारीको सवाल हो। नयाँ पुस्ता भन्नाले केवल युवा उमेरका मानिस होइनन्; नयाँ पुस्ता ती हुन् जसले नयाँ विचार ल्याउँछन्, पुराना गल्तीहरूमाथि आत्ममन्थन गर्छन् र देशका लागि नयाँ सपना बोकेर अघि बढ्छन्।
नेपालमा भने पुस्तान्तरणको बहस उमेरमा अड्किएको देखिन्छ। बुढो पुस्तालाई हटाएर नयाँ अनुहार ल्याउने मात्र समाधान होइन। पुरानो पुस्ता यदि सच्चिन, सुधारिन र नयाँ पुस्तालाई मार्गदर्शन गर्न तयार छ भने उनीहरू अभिभावकका रूपमा अमूल्य हुन सक्छन्। तर सत्ता र पदमा टाँसिने प्रवृत्तिले नेतृत्वलाई नै जनविरोधी बनाइरहेको छ। यही कारणले जेनजी पुस्ताको विद्रोह जन्मियो, जसले राजनीतिक प्रणालीप्रति नयाँ चेतना र परिवर्तनको माग गरेको छ।
हाल कांग्रेसमा सुरु भएको पुस्तान्तरण सकारात्मक सङ्केत हो। सभापति शेरबहादुर देउवाले कार्यवाहक नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्दै नयाँ पुस्ताको मागलाई सम्बोधन गर्ने संकेत दिनुभएको छ। यो कदमले अन्य दलहरू — एमाले र माओवादी केन्द्र — माथि पनि दबाब सिर्जना गरेको छ। तर एमालेका केपी शर्मा ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पनि नेतृत्व हस्तान्तरण गर्न इच्छुक छैनन्, जुन मानसिकता अब लोकतान्त्रिक संस्कृतिको विरोधाभास बनेको छ।
सत्ता र नेतृत्वमा जकडिने प्रवृत्तिले दलहरूलाई मात्र होइन, लोकतन्त्रलाई पनि खोक्रो बनाइरहेको छ। दलभित्रको निरङ्कुश सोच र असहिष्णु संस्कृति अन्ततः लोकतन्त्रकै जग हल्लाउने तत्व हुन्।
नेपाली राजनीतिमा अब पुस्तान्तरणको अर्थ “उमेर परिवर्तन” होइन, “विचार परिवर्तन” हुनुपर्छ। देशलाई नयाँ सोच, पारदर्शी आचरण र नीतिगत स्थायित्व चाहिएको छ — न कि केवल नयाँ अनुहार।
जेनजी पुस्ताको विद्रोहले मुलुकमा नयाँ आशा बोकेको छ — शान्ति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको। त्यसका लागि पुरानो पुस्ताले सत्ता मोह त्यागी मार्गदर्शक भूमिकामा उत्रिनु पर्छ र नयाँ पुस्ताले जिम्मेवारीका साथ नेतृत्व सम्हाल्नुपर्छ। विचार र सिद्धान्तमा नयाँपन ल्याउने नेतृत्व नै देशलाई निकास दिन सक्षम हुन्छ।
पुस्तान्तरण अपरिहार्य छ, तर त्यो पुस्तान्तरण उमेरको होइन — सोचको, मूल्यको र दृष्टिकोणको हुनुपर्छ। यही बाटो नेपालले खोज्नुपर्छ, यही बाटोले भविष्यमा स्थिरता र समृद्धिको यात्रा तय गर्नेछ।