एमालेको भविष्य अनिश्चित छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ नेकपा (एमाले) भित्र गहिरिँदै गएको सङ्कट र अन्तरविरोधका कारण त्यसको भविष्य अनिश्चित भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपालले एमालेमा बढ्दो आन्तरिक द्वन्द्वले पार्टीलाई सङ्कटमा पारेको र यसको परिणाम अनुमान गर्न कठिन भएको उल्लेख गरे । उनले भने, ‘नेपालको राजनीतिमा प्रमुख कम्युनिस्ट शक्ति मानिएको नेकपा (एमाले) गम्भीर सङ्कटमा छ । अन्तरविरोध चुलिँदै गएको छ, र यसको भविष्य सजिलै अनुमान गर्न सकिँदैन ।’

उनले व्यक्तिवाद, दक्षिणपन्थी सोच र अनुचित कार्य गर्ने प्रवृत्तिलाई परास्त गर्नुपर्नेमा जोड दिए । ‘कुभलो सोच्ने, अनुचित कार्य गर्ने, व्यक्तिवाद र निम्न पूँजीवादी प्रवृत्तिलाई परास्त गर्न जरुरी छ,’ उनले भने । अध्यक्ष नेपालले वर्तमान सरकारले मुलुकलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र सही नीति अवलम्बन गर्न असफल भएको पनि बताए। उनले भने, ‘सरकारले देशलाई राम्रोसँग हाँकिरहेको छैन । सही नीति अवलम्बन गर्न सकिएको छैन ।’वर्तमान सरकारलाई आफ्नो पार्टीले समर्थन नगर्ने स्पष्ट पार्दै उनले यसको पतन अपरिहार्य भएको दाबी गरे ।

‘हामी यस्तो सरकारलाई साथ दिँदैनौँ । यसको पतन निश्चित छ, हामीले धैर्यतापूर्वक पर्खनुपर्छ,’ उनले भने । उनले थपे, ‘हामी देशभर अधिवेशन गरिरहेका छौं, एक–दुई प्रदेशमा मात्रै बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *