काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो जेन–जी आन्दोलनले देशलाई गम्भीर संवैधानिक संकटतर्फ धकेलेको बताएका छन्। उनले २४ घण्टाभित्र भएको उक्त प्रदर्शनले मुलुकलाई कम्तीमा २५ वर्ष पछाडि धकेल्ने स्तरको क्षति पुर्याएको बताएका हुन् ।
बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले जेन–जी आन्दोलनलाई केहीले गर्व गर्नलायक र क्रान्तिकारी ठानिरहे पनि वास्तविकतामा त्यसले संविधानमाथि नै प्रहार गरेको बताए।
उनले भने, “२४ घण्टाको बीचमा जुन प्रकारको विध्वंस भयो, त्यसलाई पुनः निर्माण गर्न कम्तीमा २५ वर्ष लाग्छ। कसैलाई यो आन्दोलन ठूलो क्रान्ति जस्तो लाग्न सक्छ, तर यथार्थमा बनेको संविधान नै झन्डै समाप्त पार्ने काम भयो।”
खनालका अनुसार अहिलेको अवस्थामा संविधान तोडफोड भएको छ, सग्लो संविधान बाँकी छैन। उनले संविधान सभाबाट बनेको संविधानमाथि भएको आक्रमणले अब फेरि अर्को संविधान सभा बनाएर नयाँ संविधान बनाउने कल्पना नै असम्भव भएको स्पष्ट पारे।
“संविधान सभाबाट संविधान बनाउने अवसर नेपालले ऐतिहासिक रूपमा पहिलो पटक पाएको हो। विश्वमै संविधान सभाबाट बनेका संविधान ४२ वटा मात्र छन्। त्यस अर्थमा नेपाल संवैधानिक हिसाबले अग्रगामी देश हो,” उनले भने।
जेन–जी आन्दोलनको नाममा भएको अराजकता र विध्वंसले संवैधानिक स्थायित्व, लोकतान्त्रिक प्रक्रिया र राज्य व्यवस्थामाथि नै प्रश्न उठाएको खनालको भनाइ थियो। उनले देश अहिले अत्यन्त अप्ठ्यारो अवस्थाबाट अघि बढिरहेको भन्दै जिम्मेवार र सचेत राजनीतिक व्यवहारको आवश्यकता औंल्याए।
