काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री वा विशिष्ट व्यक्तिलाई भ्रष्टाचारजन्य कसुरमा उन्मुक्ति दिन नहुने बताएका छन् । चीनको ६ दिने भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका खनालले लोकतान्त्रिक व्यावस्थामा संविधान र कानुन भन्दा माथि कसैलाई र कुनै निर्णयलाई राख्न नहुने बताएका हुन् ।
खनालले संविधानअनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको नीतिगत निर्णयमा समेत छानबिन गर्नु जायज भएको धारणा राखे । उनले भने, ‘संविधानबमोजिम गठित अख्तियारले मन्त्रिपरिषद्, प्रादेशिक सरकार वा स्थानीय तहले गरेका निर्णयमा अनियमितता भएमा छानबिन गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री वा विशिष्ट व्यक्तिलाई भ्रष्टाचारजन्य कसुरमा उन्मुक्ति दिन नहुने बताए । ‘कुनै पनि निकायका गलत कार्यलाई छानबिनको दायरा बाहिर राखियो भने राजतन्त्रको आलोचना गर्नुको अर्थ रहँदैन,’ खनालले भने ।