काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन यस वर्षको तिहार र छठ पर्वपछि बोलाउने तयारी गरिएको छ ।
सभाको सञ्चालनका लागि सिंहदरबारभित्र रहेको पुरानो सभाकक्षलाई राष्ट्रिय सभाको हलका रूपमा पुनः व्यवस्थापन गरिँदैछ । हाल प्रयोगमा रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई नै सभा बस्ने ठाउँका रूपमा तयार पारिने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयकी सहसचिव सीता काफ्ले वाग्लेका अनुसार हलको छनोट भएसँगै आवश्यक तयारी सुरु गरिएको हो । उनका अनुसार सहरी विकास मन्त्रालयको टोलीले निरीक्षण गरेपछि सभाकक्षको पूर्वाधार निर्माण सुरु गरिएको छ ।
हालको हलमा ड्यास र दर्शकदीर्घा निर्माणको कामसहित आवश्यक अन्य व्यवस्थापन कार्य भइरहेको छ । यो काम सरकारसँग समन्वयमा अघि बढाइएको सचिवालयले जनाएको छ ।
आगामी अधिवेशनमा संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वका प्रस्ताव र विभिन्न विधेयकहरूमा छलफल हुने तयारी गरिएको छ ।