पशुपतिनाथमा तीजको तयारी अन्तिम चरणमा : भक्तजनका लागि विशेष व्यवस्था

काठमाडौं । हरितालिका तीजलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले व्रतालु महिलाहरूलाई सहज पूजा–दर्शन गर्न विशेष व्यवस्था मिलाउने भएको छ । यस वर्ष पशुपतिनाथ मन्दिरको बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा भक्तजनलाई दर्शन गराइनेछ ।

पशुपति क्षेत्रमा तीजको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइन बस्न नपरोस् भनेर एकदेखि डेढ घण्टाभित्रै दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको बताए । उनले यसपटक तीजको भीड व्यवस्थापनका लागि बाहिरी क्षेत्रमा मात्र स्वयंसेवक खटाइने जानकारी दिए ।

कोषाध्यक्ष नारायणप्रसाद सुवेदीका अनुसार भक्तजनलाई सहज रूपमा दर्शन गर्न चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिनेछ । त्यस्तै, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजको अवसरमा समाचार संकलनका लागि आउने पत्रकारलाई सूचना विभाग र सम्बन्धित सञ्चारगृहको परिचयपत्र प्रयोग गरी मन्दिरको मुख्य क्षेत्रसम्म प्रवेश गर्न सकिने बताए ।

कोषका सूचना अधिकारी अनिता भट्टले तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक तथा पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा, सरसफाइ र जुत्ता–चप्पल कक्षको विशेष व्यवस्था मिलाइएको जानकारी दिइन् ।

यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले “दर” खाने परम्परा पुरा गर्छन् । दोस्रो दिन मंगलबार तीजको मुख्य दिन हो, जसमा महिलाहरू निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइनेछ भने बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजा आराधनापछि चारदिने तीज पर्व सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *