सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक तालिम

सोलुखुम्बु । गाउँघरमा जन्म, विवाह वा मृत्यु संस्कार जस्ता धार्मिक कर्मकाण्ड गर्दा अझै पनि जातीय विभेदको छायाँ मेटिन सकेको छैन। यही यथार्थलाई तोड्ने प्रयासस्वरूप सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु गरिएको छ।

एक सातासम्म सञ्चालन हुने यो तालिममा गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व हुने गरी ११ जना दलित समुदायका व्यक्तिहरू सहभागी छन्। तालिममा हिन्दु धर्मअनुसार गरिने जन्म, नामकरण, विवाह, मृत्यु संस्कार, चाडपर्व तथा अन्य धार्मिक विधिबारे व्यवहारिक ज्ञान दिइँदैछ। उद्देश्य एउटै छ, समुदायभित्रै दक्ष जनशक्ति तयार पार्ने र धार्मिक कर्मकाण्डका नाममा हुने विभेदलाई चुनौती दिने।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईका अनुसार संविधानले छुवाछूतलाई कानुनी रूपमा अन्त्य गरे पनि व्यवहारमा समस्या कायमै छ। “गाउँघरमा अझै पनि दलित समुदायका घरमा धार्मिक कर्मकाण्ड गर्न समस्या देखिन्छ,” उनले भने, “त्यसैले दलित समुदायका अगुवालाई नै कर्मकाण्डसम्बन्धी सीप दिएर समाधान खोज्ने प्रयास गरेका हौँ।”

गाउँमा दलित समुदायको घरमा धार्मिक कार्य गर्नुपर्दा ब्राह्मण पुरोहितहरू नआउने समस्या पुरानै हो। अर्कोतर्फ, दलित समुदायको घरमा कर्मकाण्ड गरेमा सामाजिक बहिष्कार र जातीय दण्डको डर रहेको गुनासो ब्राह्मण पुरोहितहरू पनि गर्छन्। यही दोहोरो डर र विभेदको चक्र तोड्न यो तालिमलाई एउटा वैकल्पिक उपायका रूपमा हेरिएको छ।

तालिम उद्घाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष गौरव राईले समानताको अभ्यास भाषण र नारामा मात्र सीमित नहुने बताउँदै व्यवहारमै उतार्नुपर्ने आवश्यकता औंल्याए। “दलित तथा पिछडिएका समुदाय समाजको अभिन्न अङ्ग हुन्,” उनले भने, “छुवाछूत कागजमा अन्त्य भए पनि व्यवहारमा कायम रहेकाले पालिकाले विभिन्न कार्यक्रममार्फत त्यसको समाधान खोजिरहेको छ।”

स्थानीय दलित अगुवा विकुमार विश्वकर्माले सोलुखुम्बुमा पहिलो पटक यति व्यवस्थित रूपमा धार्मिक कर्मकाण्डसम्बन्धी तालिम आयोजना हुनु उत्साहजनक भएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले दलित समुदायको आत्मविश्वास बढाउनुका साथै समाजमा गहिरो जरा गाडेको नकारात्मक सोच परिवर्तन गर्न मद्दत पुर्‍याउँछ।

जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक जगबहादुर विश्वकर्माले तालिमलाई केवल धार्मिक ज्ञानमा सीमित नराखी भविष्यको अवसरसँग पनि जोडे। “यसले क्षमता अभिवृद्धि त गर्छ नै,” उनले भने, “भोलि यही सीपमार्फत आर्थिक आम्दानीको बाटो पनि खुल्न सक्छ।”

तालिममा स्थानीय पुरोहित कृष्णप्रसाद घिमिरेले सहजीकरण गरिरहेका छन्। उनका अनुसार धार्मिक कर्मकाण्डले मानिसको धार्मिक जीवनलाई व्यवस्थित, सुसंस्कृत र आध्यात्मिक बनाउँछ, त्यसैले सबै समुदायमा यससम्बन्धी दक्ष जनशक्ति हुनु अपरिहार्य छ।

सोलुखुम्बुको यो पहल केवल तालिम कार्यक्रम मात्र होइन, सदियौँदेखि जरा गाडेर बसेको छुवाछूतविरुद्धको मौन विद्रोह पनि हो। यदि यस्ता प्रयास निरन्तर र प्रभावकारी रूपमा अघि बढे, धार्मिक कर्मकाण्ड नै समानता र समावेशिताको सेतु बन्ने अपेक्षा गरिएको छ।गोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *