काठमाडौं । भाद्र कृष्ण औँसी, जसलाई कुशे औँसी भनिन्छ, आज घर–घरमा पवित्र कुश भित्र्याउँदै, बाबुप्रति सम्मान प्रकट गर्दै र दिवङ्गत पितृहरूको सम्झना गर्दै मनाइँदै छ । सनातन धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ, जसको प्रयोग वर्षभरि हुने देवकार्य र पितृकार्यमा अनिवार्य हुन्छ ।
धार्मिक परम्परा अनुसार ब्राह्मणद्वारा शास्त्रोक्त विधिअनुसार उखेलिएको कुश घरमा राख्दा परिवारमा कल्याण हुने विश्वास छ । धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभरि उपयोग गर्न मिल्छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन प्रयोग गरी त्याग्नुपर्ने मान्यता छ ।
बाबुको मुख हेर्ने परम्परा:
यसै अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई र भोजन खुवाउँदै आदर प्रकट गर्छन् । जीवित बाबुलाई श्रद्धासहित भोजन खुवाएर आशीर्वाद लिने चलन छ भने दिवङ्गत बाबुलाई सम्झँदै गोकर्णेश्वर महादेव, बेत्रावतीलगायतका पवित्र स्थलमा पुगेर तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा रहिआएको छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक उपदेशअनुसार बाबुलाई भगवान्को स्थानमा राखेर सम्मान गरिन्छ । यही विश्वासले गर्दा गोकर्णेश्वर मन्दिर परिसरमा आज लाखौँ भक्तजनको घुइँचो लाग्छ । रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि ठूलो मेला लाग्छ ।
धर्मशास्त्रअनुसार आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा फल पाइन्छ भन्ने विश्वास छ । तर, दान सुपात्रलाई मात्र दिनुपर्ने मान्यता छ । दान कुपात्रमा परे दिने र लिने दुवैलाई नरक जाने भनाइ छ । त्यसैले आज श्रद्धालुहरूले सङ्कल्प गरेर दीन दुःखीलाई दान दिन्छन् ।
कुशे औँसी पर्व धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक भावनाले पनि गहिरो जोडिएको छ । बाबुप्रति सम्मान, पितृप्रति श्रद्धा र समाजप्रति कर्तव्यबोधलाई जोड्ने यो पर्वलाई ‘पुण्य पर्व’ का रूपमा समेत मानिन्छ ।
यसरी आजको दिन देवता, पितृ र बाबुप्रति कृतज्ञता व्यक्त गर्दै परिवार र समाजमा प्रेम, कर्तव्य र आशीर्वाद बाँड्ने अवसर बनेको छ ।