ऐतिहासिक सिँजा इन्टरनेटविहीन, गाउँका कामकाज र पढाइ ठप्प

जुम्ला । नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको रूपमा परिचित सिँजा क्षेत्र अहिले पनि इन्टरनेटविहीन जीवन बिताइरहेको छ । आधुनिक प्रविधिको युगमा पनि यहाँका विद्यालय, वडा कार्यालय र स्थानीय समुदायले इन्टरनेट अभावका कारण दैनिक प्रशासनिक र शैक्षिक कामकाज गर्न कठिनाइ भोगिरहेका छन् ।

सिँजा गाउँपालिका–६ का शान्ति जनआधारभूत विद्यालयका प्रधानाध्यापक प्रमानबहादुर रोकायाका अनुसार गाउँमा इन्टरनेट त के, मोबाइल नेटवर्कको सिग्नलसमेत स्थिर छैन । “सामान्य फोन गर्न पनि कठिन हुन्छ, कहिलेकाहीँ आवाज काटिन्छ वा बुझिँदैन,” उनले भने । उनका अनुसार नेताहरूले इन्टरनेट ल्याउने वाचा धेरै गरे पनि अहिलेसम्म त्यो वाचा कागजमै सीमित छ । विद्यालयका अनलाइन फाराम, शैक्षिक रिपोर्टिङ र सरकारी पत्राचारसमेत ठप्प अवस्थामा पुगेका छन् ।

वडा कार्यालयका कर्मचारी र स्थानीय बासिन्दा दुवैले सूचना आदानप्रदान र आपत्कालीन सम्पर्कमा समस्या भइरहेको बताएका छन् । वडा अध्यक्ष लालबहादुर बुढाले इन्टरनेट खोज्दै नराकोट वा जुम्ला बजार धाउनुपर्ने बाध्यता सुनाए । “नागरिकता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता जस्ता काम इन्टरनेट नहुँदा ढिलो भइरहेका छन्,” उनले भने ।

सिँजा क्षेत्रका बासिन्दाले सञ्चार पहुँचलाई आफ्नो अधिकारको रूपमा व्याख्या गर्दै सरकार र सम्बन्धित निकायलाई शीघ्र इन्टरनेट र स्थिर मोबाइल सेवा विस्तार गर्न माग गरेका छन् । आधुनिक युगमा पनि सम्पर्कविहीन सिँजा, राज्यको ध्यानाकर्षणको प्रतीक्षा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *