विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ लाई ‘कोशी पर्यटन वर्ष’ भनेर भव्य रूपमा घोषणा गरिएको चार महिना बितिसक्दा पनि प्रदेशभरि सुनसान वातावरण छ । तेह्रथुमको तीनजुरे–मिल्के क्षेत्रबाट २०८१ चैत ३० गते उत्साहका साथ शुभारम्भ गरिएको पर्यटन वर्ष त्यसयतादेखि कुनै प्रभावकारी कार्यक्रमविनै थामिएको छ ।
प्रदेश सरकारले पर्यटन वर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ र विभागीय मन्त्रीको नेतृत्वमा पर्यटन व्यवसायीसमेत समावेश भएको निर्देशन समिति गठन गरिएको छ । तर समितिका सहसंयोजक तथा पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठका अनुसार घोषणा मात्र गरियो, कार्यक्रम भने एकोहोरो रूपमा रोकिएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव तथा पर्यटन महाशाखा प्रमुख कृष्णकुमार न्यौपानेले कार्यविधिमै गम्भीर त्रुटि भएकाले पर्यटन वर्ष कार्यान्वयन अवरुद्ध भएको बताए । सचिवालय, व्यवस्थापन समिति र निर्देशन समिति , तीन तहको संरचना अनावश्यक जटिल हुँदा निर्णय प्रक्रियामा नै बाधा पुगेको उनको भनाइ छ । संशोधन गर्दा ५० प्रतिशतभन्दा बढी परिमार्जन आवश्यक देखिएकोले पुरानै कार्यविधिलाई परित्याग गरी नयाँ कार्यविधि तयार पार्नुपर्ने अवस्था आएको छ । अहिले नयाँ कार्यविधि मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालयमा सहमतिका लागि पठाइएको छ ।
यता, भदौपछि सुरु भएको जेनजी आन्दोलनले पर्यटक भित्रिने क्रममा थप अवरोध पुर्याएको व्यवसायीहरू बताउँछन् । भारतमा ‘नेपाल असुरक्षित’ भएको सन्देश फैलिन थालेपछि भारतीय पर्यटकको आगमन घटेको गुनासो छ । भारतमा गएर प्रचार–प्रसार गर्नुपर्नेमा प्रदेश सरकारले नियमावलीका कारण त्यस्तो कार्यक्रम गरे पनि भुक्तानी नपाइने प्रावधानले बाधा पुर्याएको उनीहरूको आलोचना छ ।
उपसचिव न्यौपानेका अनुसार आन्दोलनका क्रममा मन्त्रालयमा आगजनी भएकाले असोज र कात्तिक त्यसैको व्यवस्थापनमै बित्यो । आन्दोलनअघि नै कार्यविधिमा देखिएका कमजोरी समाधान गर्न सकिएको भए हिउँदे मौसमदेखि अभियान प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको उनले बताए ।
यद्यपि पर्यटन व्यवसायी श्रेष्ठले कोशी पर्यटन वर्षलाई अझै प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् । कार्यविधि संशोधन छिटो टुंग्याएर फागुन २१ सम्म प्रचार–प्रसार तीव्र बनाउने र चैत, वैशाख र जेठमा पर्यटक भित्र्याउने रणनीति अवलम्बन गर्न सके अभियान सफल बन्ने उनको धारणा छ ।
घोषणा भव्य भयो, तर कोशी पर्यटन वर्ष कार्यान्वयन भने अझै पनि कागजमै अल्झिएको छ।
