नेपाल विश्वकै पर्यटकका लागि अद्वितीय र मनमोहक गन्तव्य हो। संसारकै सर्वोच्च शिखर सगरमाथादेखि पूर्व–पश्चिमसम्म फैलिएर उभिएका हिमशृङ्खला र तिनको काखमा रहेको साहसिक पदयात्रा मार्ग, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मन्दिरै–मन्दिरले भरिएको काठमाडौं उपत्यका, स्वयम्भूनाथ र बौद्धनाथ जस्ता ऐतिहासिक–सांस्कृतिक सम्पदा—यी सबैले नेपाललाई अनुपम बनाउँछन्। यस्ता प्राकृतिक र सांस्कृतिक धरोहर हुँदाहुँदै पनि नेपालको पर्यटनको पर्याप्त बजारीकरण हुन नसकेको यथार्थ भने नकार्न सकिँदैन।
हालै भदौ २३ र २४ गते देशभर भएको भ्रष्टाचारविरोधी नवपुस्ता—जेनजी आन्दोलन—ले पर्यटन बजारमा प्रत्यक्ष प्रतिकूल प्रभाव पार्यो। आन्दोलनका क्रममा कतिपय पर्यटकीय संरचनामा आगजनी र तोडफोड हुँदा विश्व समुदायले नकारात्मक सन्देश प्राप्त गर्यो। यसको परिणामस्वरूप नेपाल भ्रमणका बुकिङमध्ये करिब ३७ प्रतिशत रद्द भएको तथ्य सार्वजनिक छ, जुन दुःखद र गम्भीर चेतावनी हो।
तर यस संकटको अर्को पक्ष आशाजनक छ। तीव्र आन्दोलनका बीच पनि कुनै विदेशी पर्यटक हताहत भएनन्, उनीहरूको जनधन असुरक्षित रहेन। कुटपिट, लुटपाट वा अन्य दुष्कृत्य पर्यटकमाथि हुन सकेनन्। विदेशी पर्यटकले स्वयं यो सुरक्षा र शान्त अनुभवलाई उच्च मूल्याङ्कन गर्दै ‘Now Nepal’ अर्थात् “म अहिले नेपालमै छु” भन्ने प्लेकार्ड बोकेका तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत विश्वभर पुर्याइरहेका छन्। यो प्रत्यक्ष प्रमाणले नेपाल अझै सुरक्षित गन्तव्य भएको सन्देश संसारभर फैलाइरहेको छ, जसले आघात पाएको पर्यटन क्षेत्रमा आशाको झिल्को देखाएको छ।
अहिले नै लाखौँ पर्यटक भित्रिने मुख्य सिजन हो—असोज, कात्तिकदेखि मध्य मङ्सिरसम्म। जेनजी आन्दोलनका कारण धेरैले नेपाल भ्रमणमा दुविधा राख्नु स्वाभाविक भए पनि नेपालमा रहेका विदेशी पर्यटक स्वयंले सकारात्मक सन्देश फैलाउनु उल्लेखनीय छ। उनीहरूका प्रत्यक्ष अनुभव र सामाजिक सञ्जालमा गरिएको प्रसारणले नेपालको पर्यटनलाई पुनः सक्रिय बनाउन ठुलो सहयोग पुर्याइरहेको छ। यस अभियानलाई सम्बद्ध पर्यटकीय संघ–संस्थाले पनि बलियो साथ दिनु अपरिहार्य छ।
यद्यपि आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले नेपालको पर्यटन छविमा नकारात्मक असर पारेको साँचो हो। विगतमा सामान्य पहिरो जस्ता घटनाले पनि पर्यटन प्रभावित हुने गरेकोमा यसपटक केही संरचनामा भएको क्षति दुःखद मात्र होइन, पर्यटन प्रवर्धनका लागि गम्भीर चुनौती पनि हो।
नेपालको अर्थतन्त्र कृषि, जलस्रोत र पर्यटनमा अडिएको छ। यस सन्दर्भमा कृषि उपजलाई अर्गानिक दिशामा उन्मुख गर्दै नेपालमै उत्पादित खाद्यवस्तुको बजार विस्तार गर्न सकिन्छ, जसले पर्यटकलाई स्वास्थ्यकर र मौलिक अनुभव दिनेछ। जलस्रोतलाई साहसिक खेल, नदीय पर्यटन र रोजगारी सिर्जनासँग जोडेर नयाँ आयाम थप्न सकिन्छ। नेपाल पर्यटन बोर्डले अहिलेको जटिल परिस्थितिमा सहजीकरण गर्दै दिगो पर्यटन विकासका लागि ठोस रणनीति ल्याउनु जरुरी छ।
अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेको बहुआयामिक सन्देश पुर्याउन थप रचनात्मक विधि अवलम्बन गर्न आवश्यक छ। केही चर्चित विदेशी भ्लगर, कन्टेन्ट क्रिएटरका माध्यमबाट मात्र नभई, स्वयं पर्यटकलाई प्रत्यक्ष प्रसारणमा प्रोत्साहन गर्नु पर्यटन प्रवर्धनको प्रभावकारी उपाय बन्न सक्छ।
अहिलेको चुनौती भनेको ३७ प्रतिशतसम्म घटेको आगमनलाई शीघ्र सुधार्नु हो। खुला निलो आकाश, चाँदीझैं टल्कने हिमाल, पर्वतीय पदयात्रा र आरोहणका लागि उपयुक्त यो मुख्य सिजनमै आएको अवरोधलाई न्यूनतममा सीमित गर्नु अपरिहार्य छ।
संकटलाई अवसरमा बदल्न सक्ने क्षमता नेपालमा छ। जेनजी आन्दोलनको समयमा विदेशी पाहुनाको सुरक्षा सुनिश्चित गरिएको उदाहरणलाई अन्तर्राष्ट्रिय बजारमा बलियो सन्देशका रूपमा प्रस्तुत गर्नुपर्छ। पर्यटन केवल प्रचारको विषय होइन, राष्ट्रको आर्थिक र कूटनीतिक पहिचानको मेरुदण्ड हो। सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र विदेशी पर्यटकबीचको सहकार्यले अहिलेको प्रतिकूलतालाई सम्भावनामा रूपान्तरण गर्न सक्छ।
नेपालका हिमाल, संस्कृति र आतिथ्य केवल दृश्य होइनन्, ती अनुभव हुन्। यही अनुभवलाई संकटपछि पनि सुरक्षित, आत्मीय र अनन्य रूपमा विश्वसमक्ष प्रस्तुत गर्नु नै नेपालको पर्यटन प्रवर्धनको मूल मन्त्र हुनुपर्छ। जेनजी आन्दोलनले दिएको ठुलो शिक्षा यही हो—पर्यटनको बलियो आधार सामाजिक स्थिरता र सामूहिक जिम्मेवारी हो, जसलाई दीर्घकालीन रणनीतिमा रूपान्तरण गर्ने समय यही हो।