काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने भेटमा खनालले प्रचण्डलाई बताउनुभएको थियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षसँग सहकार्य गर्ने भएपछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । यही कारण सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन ।
गएको आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा भएको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन ।