हलेसीमा रामनवमी धार्मिक मेला

काठमाडौं। हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमी धार्मिक मेला एक साताअघिदेखि सुरु भएको छ। भोलि बुधबार रामनवमी पर्व हो। पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन, मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताए।

यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिए।

‘रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ। भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहिर्‍याउने गरिन्छ,’ उनले भने, ‘महादेवलाई गहना पहिर्‍याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ।’

मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन्। अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याएर आउना गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार रामनवमीका दिन सबैभन्दा बढी दर्शनार्थी यहाँ आउने भएकाले उनीहरूलाई सहजरुपमा पूजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ।राजधानी काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएपछि यहाँ आउने अधिकांश दर्शनार्थीले आफैले सवारीसाधन लिएर आउने गरेका उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us