काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज पनि सोही दिशालाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको छ। कारोबारमा आएका ४२ स्क्रिप्सको मूल्य बढ्दा १९९ वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यसदिन ३१२ स्क्रिप्सको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार १६.८२ अंकले घटेर बन्द भएको सेयर बजारमा २ अर्ब ७९ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि आइतबार ३ अर्ब ६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दोहोरो अंकले घटेको सेयर बजारमा १०.७५ प्रतिशत एसबीएल डिवेन्चर २०८० को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसैगरी गोर्खाज फाइनान्सको सेयर ९.९६ प्रतिशतले बढ्दा सिभिल बैंक डिवेन्चर २०८८ को ८.१९ ,ग्रीन डेभलपमेन्ट बैंकको ५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढेको हो।
रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स अग्र स्थानमा रह्यो। सो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड,पोखरा फाइनान्सले ६ करोड,सर्वोत्तम सिमेन्टको ४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन सेन्सेटिभ इण्डेक्स २.२६ अंकले घटेर ३५३.५१ विन्दुमा अडिएको छ। १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।