काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
भारी वर्षापछि राष्ट्रिय आपतकालीन सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणले अत्यावश्यक अवस्थाबाहेक घर नछोड्न सचेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सडकमा बाढी आएको छ । केही सडक भत्किएका छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । जलमग्न सडकमा गाडी चलाउँदा बिग्रिने जोखिम भएकाले गाडी तथा अन्य साधन जोखिम क्षेत्रबाट टाढा सुरक्षित ठाउँमा पार्क गर्न सुझाव दिइएको छ ।
कीर्तिमानी वर्षा जलवायु इतिहासमा असाधारण घटना भएको केन्द्रले जनाएको छ । प्रतिकूल मौसमको व्यवस्थापन गर्न कठिनाइ भैरहेको विपद् विज्ञले बताएका छन् । दुबईमा सडक यातायात र हवाई सेवासमेत अवरुद्ध भएको छ । यूएई र आसपासका देशमा हिजोदेखि नै भारी वर्षा भैरहेको छ ।