काठमाडौं । नेपाल सरकारले बिहीबार र शुक्रबार (बैशाख ६ र ७) दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । उक्त कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिनुभयो । “हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने छन्”, उनले भने, “अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ ।”
कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।