काठमाडौं। नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । उक्त अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो ।
स्वास्थ्य सेवा विभागका डा. उत्तम पाच्याले मुलुकका विभिन्न संघिय अस्पताल मध्ये भेरी अस्पताल ८० प्रतिशत अंक सहित उत्कृष्ट बनेको बताउनुभयो । उहाँका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६९, डडेलधुरा अस्पतालले ६५ र गजेन्द्रनारायण अस्पतालले ३२ प्रतिशत अंक ल्याएको छ । भेरी अस्पतालले विगत ३ वर्षदेखी सबैभन्दा बढी अंक प्राप्त गरेर उत्कृष्ट बन्दै आएको डा। पाच्याले बताउनुभयो ।
भेरी अस्पतालले यसअघि सन् २०२२ मा ६७ र सन् २०२३ मा पनि ७५ प्रतिशत अंक ल्याएर देशभरिमै उत्कृष्ठ बनेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार विभिन्न ३ वटा क्याटोगरीमा १ हजार ५०० मापदण्ड रहेकोमा त्यसमा मुल्यांकन गर्दा भेरी अस्पतालको सबैभन्दा उत्कृष्ट ८० प्रतिशत अंक आएको हो ।
अस्पतालका सुचना अधिकारी वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालले अस्पतालको भौतिक पुर्वाधारसँगै प्रयाप्त दक्ष जनशक्ति उत्तिकै आवश्यक रहेकोले यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।