मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। बिहीबार ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनु भएको छ। उहाँले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रूत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहेको बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले संघीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुन लागेको बताउनुभयो ।

उहाँले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पार्नुभयो । ‘नेपालको आर्थिक समृद्धिका लागि सरकारले मुख्य आधारका रूपमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ । यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबुत बनाउँदै लगेको छ । नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रका रूपमा परिणत हुँदै छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us