काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.९३ अंकले बढेर २ हजार ६.२८ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३० प्रतिशतको वृद्धि हो । सोमबार स्थिर रहेको नेप्सेमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएको हो ।
नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । सो दिन कारोबारमा आएकामध्ये २ सय १५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, २६ वटाको घट्यो र बाँकी ४ वटाको सेयर मूल्य स्थिर रहयो । उक्त दिन ७४ हजार ८ सय २३ पटकको कारोबारबाट १ करोड १७ लाख ५९ हजार ९ सय ३८ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा करिब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । सोमबार २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।