भारतीय विदेशमन्त्रीद्वारा नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा असन्तुष्टि

काठमाडौं। नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताउनु भएको हो। शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताउनु भएको हो । 

नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भन्नुभयो, मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।

अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभएको थियो, हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ । नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us