काठमाडौं । राइड सेयरिङ एप इनड्राइभले करिब ३ वर्ष सेवा दिइसकेपछि आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ ।
कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने बताएको हो।
कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ । दर्ता विनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो । नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।
हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।