विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३, जसपाको १ सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाका ५ जनाले भने तटस्थमा मत हालेका छन् । त्यसआधारमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्ताव पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभयो । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । राप्रपाले भने विश्वासको मतको प्रस्तावमा तटस्थ बसेको छ ।
गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा कार्की नियुक्त हुनुभएको हो । उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ।
प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको सभामुखसहित ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् ।