काठमाडौं। नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रन मात्रै बनायो ।
पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग हार बेहोरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाउन सफल भए।
तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन जना खेलाडी परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा सामेल हुन सकेनन्। उनीहरुको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए। कमलसिंह ऐरीको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ–११ मा पर्न सकेनन् ।