काठमाडौं। नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक मुद्धाको टुङ्गो नलाग्दासम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकोले त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा र सरकारले गर्ने कुनैपनि कार्यमा कांग्रेसको सहभागिता नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो । जबकि ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।