आज आइपिएल फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद आज एक अर्काविरुद्ध खेल्दै छन्।कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्न लागेका हुन्। कोलकाताले दुई पटक आइपिएलको उपाधि जितेको छ।

आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ। कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेका हुन्। फाइनलमा कोलकाता र हैदराबाद पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्।

यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जितेको थियो भने ३ खेल हारेको थियो। टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो। यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

हैदराबादले २०१६ मा आइपिएलको उपाधि जितेको थियो। यो सिजनमा हैदराबादले ८ खेल जितेको थियो भने ५ खेलमा हारेको थियो। एक खेल वर्षाका कारण रद्द भएको थियो। हैदराबाद १७ अङ्कसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो।

अहिलेसम्म दुई टोलीबिच भएको प्रतिस्पर्धामा कोलकाता हाबी देखिन्छ। २७ खेल भएकोमा कोलकाताले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल जितेको छ। यस सिजनमा दुई टोलीबिच जम्मा दुई खेल भएकोमा दुवै खेल कोलकाताले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us