काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलका सदस्यसहित सत्तापक्ष र विपक्षका नेताहरूको संयुक्त बैठक सुरु भएको छ ।
छलफलमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी हुनुहुन्छ। त्यस्तै एमालेबाट कानुनमन्त्रीसमेत रहेका पदम गिरी, महेश बर्तौला सहभागी हुनुहुन्छ। माओवादी केन्द्रबाट अर्थमन्त्रीमन्त्रीसमेत रहेका वर्षमान पुन र हितराज पाण्डे तथा रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत सहभागी हुनुहुन्छ।
यही मंगलबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । नेपालको संविधानले हरेक वर्षको जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर, कांग्रेसले सदनको अवरोध जारी राखेकाले बजेट प्रस्तुत गर्ने वातावरण मिलाउन प्रचण्ड प्रयासरत छ ।
सत्ता पक्ष र विपक्ष दुवै सहकारीको सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनाउन तयार भइसकेका छन् । तर, त्यसको कार्यादेश भने टुंगिन सकेको छैन । कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको छ ।
यही मागमा सहमति हुन नसक्दा प्रतिपक्षी दलहरूको नाराबाजी र वेल घेराउका बीच सदनले आफ्नो कामकारबाही अगाडि बढाइरहेको छ ।