काठमाडौं। कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्यो।
उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।
ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १ १ विकेट लिए।
कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।