काठमाडौं। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताउनुभयो। आजै ५ बजे शपथ ग्रहण हुने उहाँले जानकारी दिनुभयो।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई जेठ १४ मा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।
यस उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेमा अल्पमतको सरकार बन्छ। यसरी नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।
पाण्डे दोस्रो पटक मुख्यमन्त्री बननुभएको हो। यसअघि उहाँ नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो। तर केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै माओवादीले समर्थन फिर्ता लिएको थियो। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनुभएको थियो। त्यसपछि गत वैशाख २३ मा माओवादीको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री बन्नुभएको थियो।
अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मत सर्वोच्चले बदर गरेपछि फेरि पाण्डे मुख्यमन्त्री बननुभएको हो। प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुख सहित आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।