काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताउनु भएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउनु भएको हो।
प्रमुख सचेतक चौधरीले जमिनबाट आम जनताको शोषण भईरहेकाले पनि सरकारले उनीहरुलाई न्याय दिन पनि सबै जमिन सरकारले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता औंल्यानु भयो ।
जमिनको माध्यामबाट जनतामाथि चरम शोषण भएको र वास्तविक किसानले श्रमको मूल्य पाउन नसकिरहेको अवस्थामा सरकारले सबै जमिनलाई आफ्नो मातहत ल्याउन आवश्यक रहेको उहाँको भनाई थियो । प्रमुख सचेतक चौधरीले सरकारले सो जमिन कृषि र उद्योगको क्षेत्रमा काम गर्ने आम नागरिकलाई तिरो लिएर लिनुपर्ने योजना पनि प्रश्तुत गर्नुभयो । प्रमुख सचेतक चौधरीले बाँझो जमिन परिचालन गर्ने दिशामा सरकारले ठोस योजना बनाउन नसकेको गुनासो पनि गर्नुभयो ।