काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनमा जानकारी गराउन माग गर्नुभएको हो।
‘आगामी दिनको यो प्रतिनिधि सभा बैठक प्रारम्भ हुनेबित्तिकै प्रधानमन्त्रीज्यूबाट आफ्नो भारत भ्रमण र राष्ट्रपतिजीको विदेश भ्रमणका बारेमा सदनलाई जानकारी हुनुपर्छ, अखबार पढेर समाचार जानकारी हुने अवस्था नबनोस्,’ लेखकले भन्नुभयो, ‘यसमा सभामुखबाट रूलिङ हुनुपर्छ।’
राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रीहरू सदन चलिरहेका बेला विशेष खालका निर्णय गरेर जानुपर्ने प्रचलन रहेको पनि उहाँले बताउनुभयो। साथै लेखकले प्रधानमन्त्री दाहाललाई संसद बैठकमा नदेखिएको पनि बताउनुभएको थियो।