काठमाडौं। राजीनामा दिन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसद्बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । ‘राजीनामा बुझाउन गएका थियौं । प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।
आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनुहुन्छ । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ।
यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएका थिए। साथै एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । गत सोमबार राति नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।