माधवकुमार नेपाल एकीकृत समाजवादीको अध्यक्षमा निर्वाचित

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उहाँकै नेतृत्वमा पार्टी स्थापना गर्नुभएको थियो।

पार्टी स्थापनाको ३४ महिनामा उहाँले महाधिवेशन सम्पन्न गर्नुभएको हो । सुरुमा नेपाललाई नेता घनश्याम भुसालले चुनौती दिनुभएको थियो । बुधबार बन्दसत्रमा पेस भएको चारवटै दस्ताबेज अनुमोदन भएको थियो । सोही दिन बेलुका अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए । नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा भएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन हुनुभएको हो ।

नेपाल वामपन्थी आन्दोलनका एक अनुभवी, इमान्दार र विद्रोही स्वभावका नेता मानिनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने काममा नेपालको नेतृत्वदायी भूमिका रहेको छ । पञ्चायती निरंकुश व्यवस्था, सक्रिय राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँको अग्रणी भूमिका रहेको छ । यस्तै १० वर्षे माओवादी सशस्त्र विद्रोह, लडाकु र हतियार व्यवस्थापनका लागि उहाँको पहलकदमी स्मरणयोग्य रहेको छ ।

२००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा उहाँको जन्म भएको थियो । पिता मंगलकुमार उपाध्याय र आमा दुर्गादेवी उपाध्यायका तीन भाइ छोरामध्ये उहाँ जेठा छोरा हो। नेपालले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएको थियो । २०२२ सालमा वीरगन्ज को ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीण प्रमाणपत्र तह उत्र्रिण गर्नुभएको उहाँले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गर्नुभएको छ । राजनीतिमा आउनुअघि उहाँ नेपाल बैँकको जागिरे हुनुहुन्थ्यो ।

तेह्र वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न भएपछि कम्युनिस्ट घटकहरूलाई एकतामा ल्याउन प्रयास गर्नुभएको थियो । यसै सिलसिलामा उहाँ २०३२ मा को–अर्डिनेसन केन्द्रका संस्थापक सदस्य हुनुभयोभए । २०३५ सालमा नेकपा (माले) का संस्थापक सदस्यको साथसाथै नेपाल पोलिटब्यूरो सदस्य हुनुभयो । २०३३ मा राजनीतिक अभियोग राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष जेल पर्नुभएको थियो। २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका नेपाल संयुक्त वाम मोर्चाका सदस्य हुनुहुन्थ्यो । २०४७ मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो। २०४८ सालमा एमालेका पोलिटब्यूरो सदस्य हुनुभयो। २०४८ को आम निर्वाचनपछि उहाँ राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता हुनुभयो।

२०४९ सालमा एमालेको पाचौँ महाधिवेशनमा उहाँ स्थायी समिति हुनुभएको थियो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि उहाँ कार्यबहाक महासचिव हुनुभयो । नेपाल एमालेलेमा लामो समय विदेश मामिला विभागका प्रमुख हुनुभएको थियो।

नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री हुनुहुन्थ्यो। २०५४ सालमा भएको छैटौं महाधिवेशनमा महासचिव निर्वाचित हुनुभयो । झण्डै १४ वर्ष महासचिव हुनुभएको उहाँ २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि राजीनामा दिनुभएको थियो । यसबिचमा उहाँ प्रतिनिधिसभामा पटक पटक प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका खेल्नुभयो । पहिलो संविधानसभाको निर्वाचनपछि उहाँ संवैधानिक समितिका सभापति हुँदै समानुपातिक सांसद हुनुभयो।

२०६६ साल वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने अवसर नेपाललाई जुरेको थियो । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्षात्मक बहुदलीय प्रणालीमा गएपछि अध्यक्ष बन्ने आकांक्षा देखाउनुभएको थियो। २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिनुभएका उहाँ थोरै मतले पराजित हुनुभयो । उहाँ २०५१ देखि ०७९ सम्म भएको निर्वाचनमध्ये २०६४ मा मात्रै पराजित हुनुभएको थियो । २०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर बनेको नेकपामा उहाँ ओली, प्रचण्डपछि तेस्रो तहका नेता हुनुभएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्डसँग मिलेर उहाँ सडक संघर्षमा उत्रिनुभएको थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपश्चात् साबिक एमालेमै रहेनुभएका उहाँ ओलीसँग संघर्ष गरिरहनुभयो। तर ओलीसँग विवाद नसुल्झेपछि एमालेसँग विद्रोह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us