काठमाडौं । ६ दिन लगाएर चलेको नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । असार १६ गते काठमाडौंमा सुरु भएको महाधिवेशन ६ दिनपछि ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै असार २१ गते सकिएको हो । नवनिर्वाचित ९३ जना केन्द्रीय कमिटी सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
महाधिवेशन समापन गर्दै सम्मानित नेता तथा महाधिवेशन सम्पन्न गर्न गठित अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन सफल भएको बताउनुभयो । ‘दसौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ’, खनालले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने र प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँले अव पार्टीको अग्रगति र प्रगतिका लागि निर्णायक भूमिका खेल्ने काम पार्टीका नेता कार्यकर्ताको भएको भन्दै त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशनले २१ सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेपनि १८ सदस्यीय पदाधिकारीसहित २०६ जना केन्द्रीय सदस्य चयन गर्न सकेन ।
महाधिवेशनले अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई दोहोर्याएको छ । यसअघि ३४६ जनाको केन्द्रीय समिति रहेकोमा त्यसैभित्रबाट पार्टीमा सक्रिय रहेकाहरु मध्येबाट छनोट गर्ने सो पार्टीको तयारी छ ।
महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले केही महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कमिटी निर्माण निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठाएपनि तत्काल त्यो सम्भावना नभएपछि व्यापक छलफलमार्फत हालको केन्द्रीय कमिटी गठन भएको बताउनुभयो ।
उहाँले विधानको व्यवस्था अनुसार चाँडै २९९ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसका लागि कार्यकर्ताको भावनाअनुसार आफूहरूले निर्णय गर्ने बताउनुभयो । ‘तपाईंहरुलाई कुन पदमा बस्न मन छ, त्यो हामीलाई लेखेर दिनुहोला’, अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईंहरुको राम्रो चाहाना पनि हामीले थाहा पाउनुपर्यो ।’ अध्यक्ष नेपालले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शनिबार दिउँसो बस्ने र आवश्यक निर्णयहरू गर्ने जानकारी समेत गराउनुभयो ।
त्यस्तै महासचिव घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै सबैभन्दा ठुलो र क्रान्तिकारी पार्टीको रूपमा अघि बढ्ने दाबी गर्नुभयो ।
‘कम्युनिस्ट आन्दोलनमा समाजवादी कार्यक्रम पारित गरेर ठुलो काम गरेको छौँ’, उहाँले भन्नुभयो, ‘त्यसपछि हामीले नेतृत्व पनि चयन गरेका छौँ मूलभूत रूपमा । यो महाधिवेशनले सङ्कल्प गरेको र अभिलासा राखेको त्यो सङ्कल्प पूरा हुने क्षणमा आएका छौँ ।’महासचिव भुसालले विद्रोह गरेर आएकाले लक्ष्य र उद्देश्यका लागि हर चिज त्याग्न तयार हुनुपर्ने नेता कार्यकर्तालाई सन्देश दिँदै रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।