काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ ।
आइतबार बसेको केन्द्रीय कमिटीले सचिव र प्रदेश इन्चार्जहरुलाई केन्द्रीय सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बढीमा १० दिनभित्र केन्द्रीय कमिटीको टुंगो लगाउने गरी जिम्मेवारी दिइएको छ । उहाँले भन्नुभयो, ‘बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि ।
प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरुसहितको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ । उहाँले पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेर सन्देश दिन चाहेको बताउनुभयो ।