काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने छ । बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।
यस्तै, राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको २१औँ वार्षिक प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।