काठमाडौं। कैलालीमा बुधबारको निरन्तर वर्षाका कारण स्थानीय खोला तथा नदी बस्ती पसेपछि भजनी नगरपालिका लगायतका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।
वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो। पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीयले जानकारी दिए ।
नगरपालिका वडा ८ मा अधिक प्रभावित भएको छ । सोही वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।
घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको र केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको स्थानियले बताएका छन्। भजनी नगरपालिका ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।
त्यस्तै बाढीबाट वडा(५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको र जोशीपुरको वडा ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुखको उल्लेख छ ।