काठमाडौं। भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् ।
४३ जना सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको उल्लेख गरेका छन् ।
दुर्घटनामा परी एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।