काठमाडौं। अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेको गोली हानेर हत्या भएको छ। भोजपुर घर भएकी मुना ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनले बताएको छ ।
मृतक छात्राको छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको बताइएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।
त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनले बताएको छ।