काठमाडौं। अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । एन्फा लिगमा कुल १० टोलीको सहभागिता छ ।
उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जा प्रतिस्पर्धा गर्ने छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महिला लिगमा एपिएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी, सुदूरपश्चिम, कर्णाली, संकटा एफसी र बागमती युथ क्लब रहेका छन् ।
महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् । महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।