गोर्खा मिडियामा लगानी भएकोबारे केही थाहा छैनः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताउनुभएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले काठमाडौंमा बयान लिएको थियो ।

‘उक्त रकम त्यहाँ गएकोबारे थाहा नभएको र राजीनामा नै दिइसकेको हुनाले त्यसको जिम्मेवारी आफूसँग नरहेको उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँले कम्पनीको कुनै पनि आर्थिक कारोबारमा आफू संलग्न नभएको जिकिर गरिरहनुभएको छ । तर कम्पनीको सञ्चालक र प्रवन्ध निर्देशक भएको कुराचाहिँ अस्वीकार गर्नुभएको छैन ।’

अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । भदौ १० गते उहाँसँग बयान लिइएको कास्की प्रहरीले जनाएको छ । ‘कम्पनीमा छापा हान्न जाँदा प्रारम्भिक के रहेछ भनेर बुझ्नका लागि बयान लिइएको हो,’ प्रहरी स्रोत भन्छ, ‘बयानका क्रममा संसदीय समितिमा जे भन्नुभएको थियो, त्यही दोहोरिएको छ ।’

अनुसन्धानका लागि कास्कीबाट डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा टोली काठमाडौँ गएको थियो । लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश र पूर्व डीआइजी छविलाल जोशीसँग ठाडो बयान लिइएको हो ।

उनीहरूसँग भदौ ८ मै बयान लिइएको प्रहरी स्रोतको भनाइ छ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक भएर काम गरेका थिए । सोही कनेक्सनका कारण उनी अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।

‘कम्पनीसँग उहाँको आवद्धता देखिन्छ । पोखरा महानगरको विज्ञ टोलीले अध्ययन गर्दा पनि उहाँको नाम उल्लेख छ,’ अनुसन्धानमै सहभागी एक प्रहरीले भने, ‘बयानको क्रम सकिएको छैन । अनुसन्धानले जे भन्छ, सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’

डीएसपी शर्माको टोलीले भदौ ८ र ९ गते गोर्खा मिडियासँगै नेचर हर्ब्स र नेचर नेष्ट इन्टरनेशनल कम्पनीको कार्यालयमा छापा हानेको थियो । गोर्खा मिडिया नेटवर्क र सूर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबाबु ९जीबी० राईकै समूहले तीन वटै कम्पनी सञ्चालन गरेको छ ।

छानबिन र अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीको साढे ५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको पत्ता लागेको छ । सहकारीका पीडित बचतकर्ताले २०८० साउन २२ गते प्रहरीमा जाहेरी दिएका थिए । १ हजार ३७ बचतकर्ताको उजुरीपछि छानबिन गरेर असोज तेस्रो साता प्रतिवेदन सार्वजनिक भयो । सोही प्रतिवेदनका आधारमा प्रहरीले १९ जनालाई प्रतिवादी बनाएर भदौ २४ गते पक्राउ पुर्जी जारी ग¥यो ।

पीडितहरूले न्याय नपाउने देखेपछि माघ १६ गते पूरक छानबिनका लागि सरकारी वकिल, नगरपालिका, जिल्ला प्रशासन, पोखरा महानगरपालिका, जिल्ला प्रहरीसहित ६ वटा निकायमा निवेदन दिए । उनीहरूकै जाहेरीका आधारमा माघ २० देखि पूरक अनुसन्धान सुरु भयो ।

२०८१ वैशाख २७ गते प्रतिवेदन महानगरमा बुझाए । पूरक छानबिनमा नयाँ प्रतिवादी पनि थपिएर ४४ जना पुगेका छन् । अझै ३९ जना फरार रहेका र खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका ६ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । सहकारीबाट १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले यसअघि बरामद गरेको सहकारीको सिस्टम फरेन्सिक टेष्टका लागि पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us