काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि अनशन शुरु गर्दै हुनुहुन्छ ।वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उहाँ आजदेखि आमरण अनशनमा बस्न लाग्नुभएको हो ।
पूर्व मुख्यमन्त्री कार्कीले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाउनुभएको थियो ।
उहाँले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने तयारी गर्नुभएको छ । आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उहाँले उल्लेख गर्नुभएको छ ।
केदार कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बस्न लाग्नुभएको हो ।